Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Sunday, February 21, 2021

मन

मान्छेको मन पनि
जुन जस्तो
आकार बदलीरहने
चमक फेरिइरहने

तेसैले त
तिमी फेरिन्छौ
तेसैले त म फेरिन्छु
पलपल हामी फेरिइरहन्छौँ ।

Friday, February 5, 2021

उकुसमुकुस

चिच्याउन मन लाग्छ
कराउन मन लाग्छ
तर
यी सब गर्न नसक्ने
यो कस्तो परिस्थिति ??
भित्रभित्रै उकुसमुकुस
यो कस्तो एेठन ??

Tuesday, February 2, 2021

हार



सधैँ हारिरहेको मान्छेले
जित्नै जानेन नभन
उसले हार्न बाँकी
नहोला केही सायदै
एक मुठ्ठी हिम्मत बाहेक
तेही हिम्मतले  जेनतेन
उ जितिरहेको हुन्छ 
हारले आहत मन


Tuesday, January 26, 2021

खोला बग्न देउ

खोला बनि बगिरहेको उसलाइ
कोही कुलोमा हिँडाउँन खोज्छन्
कोही नहरमा हिँड भन्छन्
कोही जमाउन चाहन्छन् उसलाइ
एउटा पोखरीमा
खोला भइ बग्नुलाइ
बरालिनु हो भनि सुनाउँछन्

Tuesday, June 23, 2020

विभेद



उसले प्यार गर्छ
आफूलाई
आफ्नो परिवारलाई
आफ्नो जातलाई
आफ्नो धर्म र संस्कृतिलाई

विभेद सुरू हुने
यस कारण होइन कि
उसले प्यार गर्छ

विभेद तब सुरू हुन्छ
जब उसले घृणा गर्छ
अरूलाई
अर्काको परिवारलाई
अर्काको जातलाई
अर्का धर्म र संस्कृतिलाई
अर्काको भुगोल
र अर्काको अस्तित्वलाई

२०७७.०३.०९

Tuesday, March 31, 2020

आफैैंमा



म खुम्चिन चाहन्छु मभित्र
म थुनिन चाहन्छु आफ्नै हिरासतमा
मलाई उत्तिकै मजा आउँछ
आफैंमा खुम्चिन
आफ्नै हिरासतमा कैद हुन
फुक्नेहरू पनि
एकदिन खुम्चिनु पर्ने छ आफैमा
खुला हुनेहरू पनि
एकदिन कैद हुनुपर्नेछ आफ्नै हिरासतमा
#लकडाउन #दिन८

Friday, March 27, 2020

मनोरोग

हे मन !
तँ पनि सख्त क्वारेन्टाइनमा बस्
के थाहा
तँ पनि सङ्क्रमित छस् कि
तँलाइ पनि सङ्क्रमण हुन्छ कि
अरूलाइ पनि तैँले सङ्क्रमित गराउँछस् कि
अचेल शहर होस् कि गाउँ
यो देश होस् कि उ देश
मनोरोगहरू बढीरहेका छन्
२०७६।१२।१४
#लकडाउन #दिन४
(लकडाउन वा क्वारेन्टाइनमा बस्दा मनोभावना दह्रो होस् । मनले अझ राम्रो गर्न उत्साहित गरिरहोस् कोरोना रोग नियन्त्रण भएर लकडाउन हटेपछि ।

Tuesday, March 3, 2020

#हाइकु१
उकुसमुकुस मन
बनाएर बसेछ
बेकारको चिन्ता

#हाइकु२
बिउँझिसकेछन्
निद्राभन्दा अघि नै
आकाङ्क्षा ताँती

Tuesday, April 9, 2019

नागरिकता बारेमा केही कुराः

१. नेपालमा नागरिकता वितरण नेपाल नागरिकता एेन, २००९ र नागरिकता नियमावली, २०१५ को लागु भएपछि सुरू भएको हो। यसको मतलब नेपालमा नागरिकता वितरणको इतिहास ६५ वर्ष हाराहारीको छ।
२. वि.सं. २०३२ पछि मात्र नेपाल सरकारले नागरिकसँग नेपाली नागरिकता प्रमाणपत्र हुनुपर्नेे आवश्यकता ठानेर नागरिकताको टोली खटाएको थियो।
३. २०४६ को परिवर्तन (प्रजातन्त्र पुनर्बहाली) अगाडि नेपालका नागरिकहरूले नागरिकता प्राप्त गर्नु नि ठूलै उपलब्धी जस्तो हुन्थ्यो। अझै भनाैँ लाखाैँ नेपाली नागरिकता बिहिन थिए।
४. नागरिकता वितरण वा नागरिकताको चर्चा आउनासाथ सरकारले टोली खटाएर नागरिकता वितरण गरेको र धेरै विदेशी(भारतीय)लाइ नागरिकता दिएको कुरा उठ्छ। यो आँकडा ५० लाखको भनेर प्रचार गरिन्छ।
५. पहिलेको व्यवस्थामा नागरिकता प्राप्ती सहज थिएन, प्रजातन्त्र पुनर्बहालीपछि सरकारले नागरिकलाइ सहजता प्रदान गर्दै नागरिकता प्रदान गर्न सुरू गर्यो। गाउँगाउँमा टोली खटाउने र सहज ढंगमा नागरिकता दिने काम पटकपटक भयो।
६. टोलीले दिइएको भनेको ५० लाख नागरिकतामध्ये सबै तराइमा दिइएको होइन। पहाडी क्षेत्रमा २८ लाख जति र तराइ मधेशमा २२ लाख जति भन्ने तथ्याङ्कहरू बाहिर आएका छन्।
(प्रशासनिक सेवालाइ सहजता प्रदान गर्न गरिएका यस्ता कामलाइ लिएर नकारात्मक टिप्पणी गर्नु कति वाञ्छनीय होला ?)
७. मधेश मूलका नागरिकलाइ भारतीय वा भारतीय मूलको देख्ने दृष्टिदोष पहाडी समुदायमा रहि आएको छ। यसैलाइ राष्ट्रवादको जलप बनाइँदैछ।
(यही कारण हो नेपालमा बहुल राष्ट्रवादको चर्चा हुन थालेको। एकै देशमा दुइ वा बढी राष्ट्रवादको आवश्यकता किन पर्दछ त नत्र ? यसलाइ समाधान गर्न सके एकल राष्ट्रवादमा नै देश अगाडि बढ्नसक्छ। सबै नेपाली नागरिकको एउटै राष्ट्रियता भएपछि एकै राष्ट्रवाद हुनुपर्दछ।)
८. १५ वर्ष अगाडिसम्म त पहाडमा नि नागरिकता नपाउनु, लिन अनेक सङ्घर्ष गर्नपर्नु, नागरिकता प्राप्ती नै संसारकै ठूलो चिज भए जस्तो अवस्था थियो। ति समस्याहरू समाधान गर्न खटिएका नागरिकता टोलीले धेरै नै सहजता पारेको कुरामा कसैको नि दुइमत नहोला। तिनै समयमा नेपालभर गरेर ५० लाख माथिले नागरिकता प्राप्त गरेका हुन्।
९. कुनै पनि मानिस नागरिकता-विहिन रहनुपर्ने अवस्था आउनुहुन्न। नेपालमा नै रहेका, लामो समयदेखि बसोबास गरेका तर नागरिकता प्राप्त नगरेकाहरूलाइ समस्यामा पारिनुहुन्न। राज्यबाट पाउने सुविधाको लागि नागरिकता चाहिन्छ, र नेपालका खास नागरिक नागरिकताको अधिकारबाट बञ्चित हुनुहुन्न।
१०. अन्त्यमा, हामीलाइ डर विदेशीले नागरिकता पाउँछन् कि भनेर हो भने निम्न कुराहरूमा कडाइ गराैँः
क) वैवाहिका नागरिकता (महिला र पुरूष दुवैका लागि समान व्यवहार होस्)को लागी निश्चित समयावधी तोक्ने
ख) विदेशी नागरिकलाइ नागरिकता प्रदान गर्न कडाइ
ग) जालझेल गरेर, झुट बोलेर, घुस खुवाएर नागरिकता लिन खोज्ने वा लिएको प्रमाणित भएका व्यक्तिलाइ कडा कारवाही गर्ने। यसगरी यस्तो कर्ममा संलग्न हुने कर्मचारी, साक्षीलाइ कडा कारवाही गर्ने।

घ) विदेशी नागरिकसँग विवाहितका सन्तानलाइ दिइने नागरिकताको लागि कडाइ गर्ने।

Saturday, December 15, 2018

न्याय खोइ ?

कसैले रातारात पोतेर गएछ
कालो
सरकार अनि प्रशासनको अनुहारमा

कसैले बाँधिदिएर गएछ
पट्टी
सरकारको अनि प्रशासनको आँखामा

कसैले कोचिदिएछ
बुजो
सरकारको अनि प्रशासनको कानमा

भोलिपल्ट सखारै थाहा लाग्छ
तेहाँ कसैको जीवन खोसिएको
धेरैको अमनचयन लुटिएको
अनि भिडको आँखै अगाडि
रक्षकको हातबाटै न्याय लुटिएको

तेसै रातको बिहानैदेखि
खोजि गरिरहेछन् मानिसहरू
कसले चुँडेर गयो कोपिला
कसले लुटेर लग्यो अमनचयन
र संसारको आँखै अगाडि
कसको आडमा लागेर
कसले किन न्यायको भण्डार नै लुट्यो

न्यायका जराहरू यसरी उखेलिए
समयको केही अवधी बीचमा
सरकार विष घोलेर पिलाउन खोजिरहन्थ्यो
केही निर्दोषहरूलाई
सहनै नसक्ने घाउको पिडामा रोइरहेथ्यो
परिवार
समाज
अनि राष्ट्र

कसैको पिडा देख्दै नदेख्ने
चिच्चाइ चिच्चाइ बोलाउँदा नि नसुन्ने
अाँखामा पट्टी बाँधिरहेको
न्याय जस्तै देखिने बुख्याँचा
न्यायको दरबार अगाडि
खोइ कसले खडा गरेको थियो ??
प्रष्टै देखिन्थ्यो
उसको हातमा रहेको
न्याय जोख्ने तराजु
अन्यायतर्फ जोडले लच्किरहेको थियो

Wednesday, May 9, 2018

माया

अङ्गालोमा भरिने मायाले दिने खुसी
अनि
अङ्गालोबाट खोसिने मायाको दुःख
के बराबर होला त ?

Sunday, April 8, 2018

लघुकथा

बिहानीदेखि नै ऊ बेचैन थियो । उसलाई धेरै काम सक्नु थियो । जिन्दगीमा सुखी हुन धेरै अाधार बनाउनु थियो । ऊ हतार हतार केही गाँस टिपेर दौडधुपमा निस्कन्छ । कति ठाउँ पुग्यो कति काम गर्यो कतिसँग झुक्यो गनेर साध्य छैन । केही कुराले खुसी दिन्थ्यो काम बने जस्तो भएर । कहिले केही काम नबन्दा केही क्षण टिठ लाग्दो हुन्थ्यो । कतिले हेयले हेर्थे, कतिले सम्मुख देख्दा बिच्किन्थे । कति कुराले थिचिएर उसको टाउको भारी भएको छ। उसको ज्यान धेरैतिर दुःखेको छ । लखतरान ऊ, घर फर्किन बस चढ्छ । उफ् जाम ! अझ उभिनुपर्ने, दिक्क मान्छ ऊ । केही क्षणमा सिट पाउँछ, बस्छ । जाममा गाडीले हल्लाउँदै गर्दा झुपुझुपु भएको उसले मिठो निद्रा पाउँछ । अघिसम्म उसको दिमागभरी अटेसमटेस चिन्ताका रेसाहरू मेटिएको छ, सानो आनन्दले ।
जिन्दगीको सुख त निष्फिक्री आनन्द लिन सक्नुमा रहेछ ।

Friday, March 30, 2018

हाइकुहरू

#हाइकु१
महाराज गए
छायाँप्रति छाडेर
सडकमा हेर
#हाइकु२
सडक छ खाली
राष्ट्रपति सवारी
शान पुरानै
#हाइकु३
फालेर एक
ल्याएका छौँ हजारौँ
महाराजहरू !

Friday, August 11, 2017

मृत्यू

मृत्यू अनायनसै आउँछ
हामी सोच्छौँ
मृत्यु आओस
तर मृत्यु आउँदा
हामीले जीवनमा गर्न थाँती केहि काम नहोस
हाम्रा सन्तानले हाम्रै रेखेदेखमा
उन्नतिको पहाड चढेका होउन
हाम्रो केश फूलेको होस
हाम्रो अनुहारको छाला चाउरिएको होस
हाम्रो दन्तलहर गुमेर गिजा मात्र बाँकी रहेको होस
हामीमा बुढ्यौलीले बास गरेको होस
हाम्रो नयनले लिन आउने मृत्युलाई पनि देख्न नसकोस
हाम्रो कानले मृत्युले बोलाएको सुन्न नसकोस
कुप्रिएका हामीलाई बुढो बेलाको सहाराझैँ
मृत्यूले बिस्तारै डोर्‍याउँदै लग्न परोस

चाहना सधैँ कहाँ पुरा हुन्छ र !
मृत्यू पनि चाहँदो हो हुन त
मान्छेको केश फूलेपछि
अनुहार चाहुरिएपछि
दाँतहरू बाँकी नरहेपछि
कुप्रो परेको मान्छेलाई
बिस्तारै डोर्‍याउँदै लैजान
तर विधिको विधान
कसको माना कहिले सकिन्छ
के पत्तो !
विधाता कहिलेकाहीँ एडभेन्चर गर्न रमाउँछ
खाउँ-खाउँ लाउँ-लाउँको उमेरमा
केहि गरौँ न त भनेर कम्मर कस्दै गरेको उमेरमा
हठात पठाउँछ मृत्यू
यो दुनियाँमा रहेको मान्छेको इहलिला उठाउन

Sunday, June 25, 2017

सुनाउन खोज्दा


'एकछिन सुन्नुस् न !'
चोकमा उभिएर मैले अनुरोध गरिरहँदा
मनमा चसक्क छुन्छ एउटा कुराले
मैले पनि कहिलेकाहीँ
यसैगरी अनुरोध आउँदा
समयको मध्यनजर गरेर
उसलाई सुनिदिएको भए
ऊ पनि सन्तुष्ट हुन्थ्यो होला
जसरी आज म हुन खोजी रहेछु

२०७४।०३।११

Monday, May 29, 2017

नजिकिँदै टाढापन

(नोटः 'नजिकिँदै टाढापन' शिर्षकको कवितालाई कविताको रूपमा नै पढिदिनुहोला। नत्र तपाईँले प्रश्न गर्ने दुःख गर्नुपर्नेछ 😂😂)

थाहा पाएँ
ऊ आएकी छे
हिजोसम्म धेरै टाढा थिइ
आज नजिक आएकी छे
ऊ आउँदा
न त खबर गरी
न त केही भनी
ऊ चुपचाप आएकी छे
भुगोलमा ऊ मेरै नजिक छे

उसले खबर गरेर आएकी भए नि
उसले आएर खबर गरेकी भए नि
मन आनन्दित हुन्थ्यो होला
रमाएर उफ्रिरहन्थ्यो होला
सुर बेसुरको गीत गाइरहथ्यो होला
उसले त केही खबरै गरिन
टाढाबाट नजिक आउँदा नि
नजिक भएको जस्तै गरिन

हिजो भुगोलमा टाढा हुँदा नि
मनमा हामी नजिकै टाँसिएका थियौँ
हाम्रो मनहरूको एकै आँगन थियो
आफ्नो मनको बार्दलीमा बसेर
हामी एकअर्कालाई नियाली रहन्थ्यौँ
बोलाई रहन्थ्यौँ
हाम्रो मौनता नि
आफै भलाकुसारी गरिरहन्थ्यो

आज ऊ आएकी छे
भुगोलमा नजिक हुँदा नि
खोइ किन हो टाढा भएकी छे
सम्झनाको कुनै सुइँको छैन
बोलाउने कुनै सुत्र छैन
आत्तिएको छ मन
खैलाबैला मच्चिएको छ
सम्झनामा हर बखत आउँछे
हिजोको निकटता सम्झिएर
हाँसो खुसी र सुख-दुःख
साटासाटको कुरा सम्झेर
मन तेतिकै एक तमासको बन्छ
टाढा हुँदाको दुरी केही होइन
नजिक आउँदा बढेको दुरीले पोलीरहेछ

Thursday, April 13, 2017

धुनीवेशी नगरपालिका र स्थानीय चुनाव

सबैभन्दा पहिले त 'धादिङ जिल्ला कति सुगम कति दुर्गम?' भन्ने कुरा मनन गर्नु नै उचित हुन्छ। देशको राजधानीसँग जोडिएको जिल्ला भएर सुगम र भौगोलिक रूपमा अति विकट भेगसमेत रहेको हुनाले दुर्गम मान्न सकिन्छ धादिङ जिल्लालाई। राजधानीसँग जोडिएर पनि विकास निर्माणको मामिलामा निकै पछाडि परेको छ यो जिल्ला। टाढाबाट हेर्दा सुगम देखिने यो जिल्ला यथार्थमा कति सुगम छ त ? देशका विभिन्न ठाउँहरू नगरको रूपमा स्तरोन्नत भइरहँदा नि यस जिल्लामा ३ वर्ष पहिलेसम्म कुनै नगर थिएन। राज्यले बाध्यतावस हुनुपर्छ 'निलकण्ठ' नगरपालिका घोषणा गर्यो सदरमुकाम र आशपास क्षेत्रलाई। हाल पछिल्लो समयमा भएको राज्य पुनःसंरचना क्रममा छत्रेदेउराली, जीवनपुर र नौविसे गाविसलाई मिलाएर 'धुनीवेशी' नगरपालिका बनाएको छ। गाउँपालिकाको हैसियत ठिक हुने ठाउँलाई आखिर किन नगरपालिकाको दर्जा दिइयो त ? हामीसँग के कति पुर्वाधारहरु छन नगरपालिकामा हुनुपर्ने? कति वर्षमा हामीले नगरवासीले पाउनुपर्ने न्युनतम पुर्वाधारहरु र सुविधाहरू पाउँछौँ ? यी प्रश्न पटकपटक सोधिनु र जवाफ खोजिनुपर्छ।

धुनिवेशी : परिचय
ऐतिहासिक रूपमा धुनेवेशी भनेर चिनिने यस क्षेत्रको तीन गाविस मिलाएर बनेको 'धुनीवेशी' नगरपालिका काठमाडौँ, मकवानपुर र नुवाकोट छुन्छ। निकै पहिले बनेको त्रिभुवन राजमार्ग यसै नगरमा पर्दछ। पक्की बाटोको रूपमा रहेको यही राजमार्ग बाहेक अन्यत्र कतै पक्की सडक बनेको छैन। हाल त यही राजमार्गको पनि हालत खराब रहेको छ। सितापाइला-धार्के जोड्ने अन्य दुइ मार्ग बन्ने क्रममा छन। तर यी मार्गहरूले कहिले पुर्णता पाउने र पक्की सडकको रूपमा स्तरोन्नत हुने हो यकिन भन्न सकिन्न। कृषि उत्पादनको पकेट क्षेत्रको रूपमा रहेको यो नगरपालिका क्षेत्रमा हाल उच्च रूपमा औद्योगिक विकास सुरु भएको छ। २०७२ वैशाख १२ को भुकम्पमा परेर यहाँका अधिकांश जनता घरविहिन भएका छन्। धुनिवेशीमा ३ स्वास्थ्य चौकी र एक अस्पताल रहेका छन। तर पनि राम्रो र भरपर्दो स्वास्थ्य सेवाको लागी काठमाडौंमा नै निर्भर छन यहाँका जनता। शिक्षामा भने केहि फड्को मारेको छ यस नगरले। नगरपालिकाक‍ो रूपमा अगाडि बढाइनु अगाडि यस धुनिवेशी नगरपालिकाले जनसंख्याको बाहेक अरू आधार पुगेको छैन। विकास पुर्वाधारहरुको कुरा सन्तोष लिने ठाउँ पनि छैन। सफा र स्वस्थ खानेपानीको समस्या फैलिँदो छ। अव्यवस्थित विकास प्रयासको कारण वातावरणमा प्रतिकुल असर पर्दै छ। वातावरणीय प्रदुषण बढ्दो छ : सार्वजनिक स्थलहरू फोहोर, खोलानालामा फोहोर बिसर्जनको कारण खोलानाला बचाउन नै गाह्रो हुने गरी प्रदुषित हुँदैछ।

धुनीवेशी नगरको सम्भावना
सम्भावनाको दृष्टिकोणले यस नगरले विशाल प्रचुरता राख्दछ। कृषि उत्पादनको पकेट क्षेत्र रहेकोले पनि व्यवसायीक कृषि अपनाउने; प्रविधिको उच्च प्रयोग गरी कृषि गर्न सकिन्छ। हालको अवस्थामा त तिव्र रूपमा हुँदै गरेको औद्योगिकीकरणले नयाँ सम्भावना दिएको छ। औद्योगिक व्यवस्थापन मुख्य चुनौति हुनेछ जसले प्राकृतिक श्रोत व्यवस्थापनमा कुशलता र वातावरण मैत्री योजना खोज्छ। काठमाडौं पछिको आवासीय क्षेत्रको रूपमा धुनिवेशी नयाँ विकल्प बनेर प्रस्तुत हुनसक्दछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी हुन सके काठमाडौँको विकल्प बन्न समय नलाग्ने देखिन्छ नै। युवा पलायनलाई थोरै भए पनि कम गर्न सके नगर निर्माणको लागि प्रयोग गर्ने मानव संसाधन पनि आफैसँग हुनेछ।

स्थानीय चुनावको महत्व
विगतमा रहेका स्थानीय निकायलाई प्रतिस्थापन गरेर नयाँ शक्तिशाली स्थानीय सरकारको संरचनामा बनेको नयाँ नगरपालिका हो धुनीवेशी। विकास पुर्वाधारहरु पर्याप्त भएर नगरपालिका बनाउनु उचित भएर नगरपालिका बनेको ठाउँ होइन धुनिवेशी। तीव्र औद्योगिककरण र विकास हुनसक्ने प्रचुरताको कारण नगरपालिका बनेको हो। २०७४ वैशाख ३१ मा हुने स्थानीय सरकारको चुनावको महत्व हामी धुनीवेशी नगरवासीको हकमा "धुनिवेशी नगरपालिका बन्नुको गरिमा सिद्ध गर्ने र यथार्थमा नगरपालिका बनाउने" हो।
धुनिवेशी नगरपालिका भर्खर मात्र खडा गरिएको नगरपालिका हो। अब हुने स्थानीय चुनाव मार्फत जनताले नगरको खाका कोर्न मतदान गर्नुपर्दछ। स्थानीय समस्याहरू, सम्भाव्यताहरूको मुल्यांकन गरेर समस्याहरू समाधान गर्न सम्भाव्यताको प्रयोग गर्ने स्वीकार्य खाका प्रस्तुत गर्ने उमेदवारलाई मत दिनुपर्दछ। कृषि उत्पादक क्षेत्र भएकोले खाना र नानाको अभाव रहेको छैन धुनिवेशीमा। तर २०७२ को भुकम्पले छाना बिहिन बनेका छन हजारौँ जनता। अब सुरक्षित र व्यवस्थित आवाश योजना ल्याइनु पर्दछ। सफा र स्वस्थ खानेपानीको समस्या विश्वकै साझा समस्या बनेको छ। यस नगरपालिकामा नि धेरै सुख्खा ठाउँ छन जहाँ भोगचलनको लागी पानीको अभाव छ। स्वच्छ र स्वस्थ खाने पानी पाउनु टाढाको कुरा हो। खाने पानी सँग सम्बन्धित ठूलो योजना आउनु अत्यावश्यक छ। 
शिक्षाको सन्दर्भमा केहि अगाडि देखिएको यस नगरमा अब जिविका माथि उठाउन सघाउने प्राविधिक र रोजगारमूलक शिक्षाको सुरूवात हुनुपर्दछ। स्वास्थ्य सेवा थप प्रभावकारी र विश्वासिलो बनाउन नगरपालिकाले यथेष्ट लगानी गर्नुपर्ने छ। बालबालिका, महिला र जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा प्रदान गर्न सुरूदेखि नै योजनाबद्ध काम हुनुपर्दछ। औद्योगिकीकरण सँगै स्थानीयले रोजगारी पाउने निश्चितता पनि चाहिन्छ।

हामीलाई धेरै कुरा चाहिन्छ। हामीलाई खाली कागज दिइएको छ, हाम्रो नगरपालिकाको नक्सा कस्तो बनाउने हाम्रो हातमा छ। सरकारले पुर्वाधारको कमी बिना नै नगरपालिका घोषित गरेर हाम्रो हातमा काँचो माटो दिएको छ। कस्तो आकारको मुर्ती, भाँडो के बनाउने हाम्रै हातमा छ। हामी सबै मतदाताले भोलिको धुनिवेशीको सुन्दर सपना देख्नुपर्छ। ती सुन्दर सपना साकार बनाउने सक्षम र इमान्दार उमेदवार रोज्नुपर्दछ। बेला छँदै उमेदवार बारेमा बुझौँ, साक्षात्कार गरौँ र चुनावमा मनले खाएको व्यक्तिलाई मतदान गरौँ। निर्वाचित हुनेहरू त राम्रो/नराम्रो कामको भागीदार हुने छन नै, हामी मतदाता पनि यसको भागीदार हुने छौँ। सुन्दर नगर निर्माणको जश कि कुरूप नगर निर्माणको अपजश थाप्ने त आफ्नो पोल्टामा ?

Monday, February 20, 2017

छाेटाे कविता

म, उसको लागी
टाढाको मान्छेहरूमा एकदम नजिकको मान्छे तेसैले त
नजिकको लागे पनि हामीमा टाढा भनी नाप्न मिल्ने एकदम टाढाको दुरी छ

Saturday, November 5, 2016

छोटो कविता

कठिन समय

आकाश छुन उड्न तम्सिरहँदा
आफ्नै चाहनाको पखेटा भारी बनिदिन्छ
पंखा फटफटाए पनि उड्न नसक्दा
जिन्दगीको लक्ष्य धुमिल भए जस्तो बनिदिन्छ
मनभित्र सजाएका सपनाहरू
दृश्यमा लगातार धुमिल बनिदिन्छ

(उसो त नकारात्मक भाव मनमा आउन दिनु हुन्न तर कहिलेकाहीँ मनमा आउने नकारात्मक भावले सकारात्मक बन्न बाध्य पार्नसक्छ जस्तो लाग्छ।)

Monday, September 12, 2016

यस्तो होस प्रेम

यहि ठूलो झरीमा निथ्रुक्क भिजेजस्तै
मलाई त्यसैगरी भिज्न मन छ
तिम्रो मायामा
अनि
भिजेका कपडाहरू ज्यानमा टाँसिएझैँ
लपक्क टाँसिउन हाम्रा मनहरू
हामी यस्तो प्यार गरौँ
न्यानो घाम चाहिएको बेला
एकअर्काको अङ्गालो होस
जिन्दगीको सुवास हाम्रो प्रेमले छरोस
सँगै मिलि खुसि ल्याऔँला
बिहान मुस्कुराउँदै उठ्ने सुर्यजस्तै

(२०७३।०५।२७ को विहान झरी परिरहँदा यस्ता भावना खेल्यो मनमा।)