Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Saturday, December 15, 2018

न्याय खोइ ?

कसैले रातारात पोतेर गएछ
कालो
सरकार अनि प्रशासनको अनुहारमा

कसैले बाँधिदिएर गएछ
पट्टी
सरकारको अनि प्रशासनको आँखामा

कसैले कोचिदिएछ
बुजो
सरकारको अनि प्रशासनको कानमा

भोलिपल्ट सखारै थाहा लाग्छ
तेहाँ कसैको जीवन खोसिएको
धेरैको अमनचयन लुटिएको
अनि भिडको आँखै अगाडि
रक्षकको हातबाटै न्याय लुटिएको

तेसै रातको बिहानैदेखि
खोजि गरिरहेछन् मानिसहरू
कसले चुँडेर गयो कोपिला
कसले लुटेर लग्यो अमनचयन
र संसारको आँखै अगाडि
कसको आडमा लागेर
कसले किन न्यायको भण्डार नै लुट्यो

न्यायका जराहरू यसरी उखेलिए
समयको केही अवधी बीचमा
सरकार विष घोलेर पिलाउन खोजिरहन्थ्यो
केही निर्दोषहरूलाई
सहनै नसक्ने घाउको पिडामा रोइरहेथ्यो
परिवार
समाज
अनि राष्ट्र

कसैको पिडा देख्दै नदेख्ने
चिच्चाइ चिच्चाइ बोलाउँदा नि नसुन्ने
अाँखामा पट्टी बाँधिरहेको
न्याय जस्तै देखिने बुख्याँचा
न्यायको दरबार अगाडि
खोइ कसले खडा गरेको थियो ??
प्रष्टै देखिन्थ्यो
उसको हातमा रहेको
न्याय जोख्ने तराजु
अन्यायतर्फ जोडले लच्किरहेको थियो

Friday, August 11, 2017

मृत्यू

मृत्यू अनायनसै आउँछ
हामी सोच्छौँ
मृत्यु आओस
तर मृत्यु आउँदा
हामीले जीवनमा गर्न थाँती केहि काम नहोस
हाम्रा सन्तानले हाम्रै रेखेदेखमा
उन्नतिको पहाड चढेका होउन
हाम्रो केश फूलेको होस
हाम्रो अनुहारको छाला चाउरिएको होस
हाम्रो दन्तलहर गुमेर गिजा मात्र बाँकी रहेको होस
हामीमा बुढ्यौलीले बास गरेको होस
हाम्रो नयनले लिन आउने मृत्युलाई पनि देख्न नसकोस
हाम्रो कानले मृत्युले बोलाएको सुन्न नसकोस
कुप्रिएका हामीलाई बुढो बेलाको सहाराझैँ
मृत्यूले बिस्तारै डोर्‍याउँदै लग्न परोस

चाहना सधैँ कहाँ पुरा हुन्छ र !
मृत्यू पनि चाहँदो हो हुन त
मान्छेको केश फूलेपछि
अनुहार चाहुरिएपछि
दाँतहरू बाँकी नरहेपछि
कुप्रो परेको मान्छेलाई
बिस्तारै डोर्‍याउँदै लैजान
तर विधिको विधान
कसको माना कहिले सकिन्छ
के पत्तो !
विधाता कहिलेकाहीँ एडभेन्चर गर्न रमाउँछ
खाउँ-खाउँ लाउँ-लाउँको उमेरमा
केहि गरौँ न त भनेर कम्मर कस्दै गरेको उमेरमा
हठात पठाउँछ मृत्यू
यो दुनियाँमा रहेको मान्छेको इहलिला उठाउन

Monday, May 29, 2017

नजिकिँदै टाढापन

(नोटः 'नजिकिँदै टाढापन' शिर्षकको कवितालाई कविताको रूपमा नै पढिदिनुहोला। नत्र तपाईँले प्रश्न गर्ने दुःख गर्नुपर्नेछ 😂😂)

थाहा पाएँ
ऊ आएकी छे
हिजोसम्म धेरै टाढा थिइ
आज नजिक आएकी छे
ऊ आउँदा
न त खबर गरी
न त केही भनी
ऊ चुपचाप आएकी छे
भुगोलमा ऊ मेरै नजिक छे

उसले खबर गरेर आएकी भए नि
उसले आएर खबर गरेकी भए नि
मन आनन्दित हुन्थ्यो होला
रमाएर उफ्रिरहन्थ्यो होला
सुर बेसुरको गीत गाइरहथ्यो होला
उसले त केही खबरै गरिन
टाढाबाट नजिक आउँदा नि
नजिक भएको जस्तै गरिन

हिजो भुगोलमा टाढा हुँदा नि
मनमा हामी नजिकै टाँसिएका थियौँ
हाम्रो मनहरूको एकै आँगन थियो
आफ्नो मनको बार्दलीमा बसेर
हामी एकअर्कालाई नियाली रहन्थ्यौँ
बोलाई रहन्थ्यौँ
हाम्रो मौनता नि
आफै भलाकुसारी गरिरहन्थ्यो

आज ऊ आएकी छे
भुगोलमा नजिक हुँदा नि
खोइ किन हो टाढा भएकी छे
सम्झनाको कुनै सुइँको छैन
बोलाउने कुनै सुत्र छैन
आत्तिएको छ मन
खैलाबैला मच्चिएको छ
सम्झनामा हर बखत आउँछे
हिजोको निकटता सम्झिएर
हाँसो खुसी र सुख-दुःख
साटासाटको कुरा सम्झेर
मन तेतिकै एक तमासको बन्छ
टाढा हुँदाको दुरी केही होइन
नजिक आउँदा बढेको दुरीले पोलीरहेछ