सबैभन्दा पहिले त 'धादिङ जिल्ला कति सुगम कति दुर्गम?' भन्ने कुरा मनन गर्नु नै उचित हुन्छ। देशको राजधानीसँग जोडिएको जिल्ला भएर सुगम र भौगोलिक रूपमा अति विकट भेगसमेत रहेको हुनाले दुर्गम मान्न सकिन्छ धादिङ जिल्लालाई। राजधानीसँग जोडिएर पनि विकास निर्माणको मामिलामा निकै पछाडि परेको छ यो जिल्ला। टाढाबाट हेर्दा सुगम देखिने यो जिल्ला यथार्थमा कति सुगम छ त ? देशका विभिन्न ठाउँहरू नगरको रूपमा स्तरोन्नत भइरहँदा नि यस जिल्लामा ३ वर्ष पहिलेसम्म कुनै नगर थिएन। राज्यले बाध्यतावस हुनुपर्छ 'निलकण्ठ' नगरपालिका घोषणा गर्यो सदरमुकाम र आशपास क्षेत्रलाई। हाल पछिल्लो समयमा भएको राज्य पुनःसंरचना क्रममा छत्रेदेउराली, जीवनपुर र नौविसे गाविसलाई मिलाएर 'धुनीवेशी' नगरपालिका बनाएको छ। गाउँपालिकाको हैसियत ठिक हुने ठाउँलाई आखिर किन नगरपालिकाको दर्जा दिइयो त ? हामीसँग के कति पुर्वाधारहरु छन नगरपालिकामा हुनुपर्ने? कति वर्षमा हामीले नगरवासीले पाउनुपर्ने न्युनतम पुर्वाधारहरु र सुविधाहरू पाउँछौँ ? यी प्रश्न पटकपटक सोधिनु र जवाफ खोजिनुपर्छ।
धुनिवेशी : परिचय
ऐतिहासिक रूपमा धुनेवेशी भनेर चिनिने यस क्षेत्रको तीन गाविस मिलाएर बनेको 'धुनीवेशी' नगरपालिका काठमाडौँ, मकवानपुर र नुवाकोट छुन्छ। निकै पहिले बनेको त्रिभुवन राजमार्ग यसै नगरमा पर्दछ। पक्की बाटोको रूपमा रहेको यही राजमार्ग बाहेक अन्यत्र कतै पक्की सडक बनेको छैन। हाल त यही राजमार्गको पनि हालत खराब रहेको छ। सितापाइला-धार्के जोड्ने अन्य दुइ मार्ग बन्ने क्रममा छन। तर यी मार्गहरूले कहिले पुर्णता पाउने र पक्की सडकको रूपमा स्तरोन्नत हुने हो यकिन भन्न सकिन्न। कृषि उत्पादनको पकेट क्षेत्रको रूपमा रहेको यो नगरपालिका क्षेत्रमा हाल उच्च रूपमा औद्योगिक विकास सुरु भएको छ। २०७२ वैशाख १२ को भुकम्पमा परेर यहाँका अधिकांश जनता घरविहिन भएका छन्। धुनिवेशीमा ३ स्वास्थ्य चौकी र एक अस्पताल रहेका छन। तर पनि राम्रो र भरपर्दो स्वास्थ्य सेवाको लागी काठमाडौंमा नै निर्भर छन यहाँका जनता। शिक्षामा भने केहि फड्को मारेको छ यस नगरले। नगरपालिकाको रूपमा अगाडि बढाइनु अगाडि यस धुनिवेशी नगरपालिकाले जनसंख्याको बाहेक अरू आधार पुगेको छैन। विकास पुर्वाधारहरुको कुरा सन्तोष लिने ठाउँ पनि छैन। सफा र स्वस्थ खानेपानीको समस्या फैलिँदो छ। अव्यवस्थित विकास प्रयासको कारण वातावरणमा प्रतिकुल असर पर्दै छ। वातावरणीय प्रदुषण बढ्दो छ : सार्वजनिक स्थलहरू फोहोर, खोलानालामा फोहोर बिसर्जनको कारण खोलानाला बचाउन नै गाह्रो हुने गरी प्रदुषित हुँदैछ।
धुनीवेशी नगरको सम्भावना
सम्भावनाको दृष्टिकोणले यस नगरले विशाल प्रचुरता राख्दछ। कृषि उत्पादनको पकेट क्षेत्र रहेकोले पनि व्यवसायीक कृषि अपनाउने; प्रविधिको उच्च प्रयोग गरी कृषि गर्न सकिन्छ। हालको अवस्थामा त तिव्र रूपमा हुँदै गरेको औद्योगिकीकरणले नयाँ सम्भावना दिएको छ। औद्योगिक व्यवस्थापन मुख्य चुनौति हुनेछ जसले प्राकृतिक श्रोत व्यवस्थापनमा कुशलता र वातावरण मैत्री योजना खोज्छ। काठमाडौं पछिको आवासीय क्षेत्रको रूपमा धुनिवेशी नयाँ विकल्प बनेर प्रस्तुत हुनसक्दछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी हुन सके काठमाडौँको विकल्प बन्न समय नलाग्ने देखिन्छ नै। युवा पलायनलाई थोरै भए पनि कम गर्न सके नगर निर्माणको लागि प्रयोग गर्ने मानव संसाधन पनि आफैसँग हुनेछ।
स्थानीय चुनावको महत्व
विगतमा रहेका स्थानीय निकायलाई प्रतिस्थापन गरेर नयाँ शक्तिशाली स्थानीय सरकारको संरचनामा बनेको नयाँ नगरपालिका हो धुनीवेशी। विकास पुर्वाधारहरु पर्याप्त भएर नगरपालिका बनाउनु उचित भएर नगरपालिका बनेको ठाउँ होइन धुनिवेशी। तीव्र औद्योगिककरण र विकास हुनसक्ने प्रचुरताको कारण नगरपालिका बनेको हो। २०७४ वैशाख ३१ मा हुने स्थानीय सरकारको चुनावको महत्व हामी धुनीवेशी नगरवासीको हकमा "धुनिवेशी नगरपालिका बन्नुको गरिमा सिद्ध गर्ने र यथार्थमा नगरपालिका बनाउने" हो।
धुनिवेशी नगरपालिका भर्खर मात्र खडा गरिएको नगरपालिका हो। अब हुने स्थानीय चुनाव मार्फत जनताले नगरको खाका कोर्न मतदान गर्नुपर्दछ। स्थानीय समस्याहरू, सम्भाव्यताहरूको मुल्यांकन गरेर समस्याहरू समाधान गर्न सम्भाव्यताको प्रयोग गर्ने स्वीकार्य खाका प्रस्तुत गर्ने उमेदवारलाई मत दिनुपर्दछ। कृषि उत्पादक क्षेत्र भएकोले खाना र नानाको अभाव रहेको छैन धुनिवेशीमा। तर २०७२ को भुकम्पले छाना बिहिन बनेका छन हजारौँ जनता। अब सुरक्षित र व्यवस्थित आवाश योजना ल्याइनु पर्दछ। सफा र स्वस्थ खानेपानीको समस्या विश्वकै साझा समस्या बनेको छ। यस नगरपालिकामा नि धेरै सुख्खा ठाउँ छन जहाँ भोगचलनको लागी पानीको अभाव छ। स्वच्छ र स्वस्थ खाने पानी पाउनु टाढाको कुरा हो। खाने पानी सँग सम्बन्धित ठूलो योजना आउनु अत्यावश्यक छ।
शिक्षाको सन्दर्भमा केहि अगाडि देखिएको यस नगरमा अब जिविका माथि उठाउन सघाउने प्राविधिक र रोजगारमूलक शिक्षाको सुरूवात हुनुपर्दछ। स्वास्थ्य सेवा थप प्रभावकारी र विश्वासिलो बनाउन नगरपालिकाले यथेष्ट लगानी गर्नुपर्ने छ। बालबालिका, महिला र जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा प्रदान गर्न सुरूदेखि नै योजनाबद्ध काम हुनुपर्दछ। औद्योगिकीकरण सँगै स्थानीयले रोजगारी पाउने निश्चितता पनि चाहिन्छ।
हामीलाई धेरै कुरा चाहिन्छ। हामीलाई खाली कागज दिइएको छ, हाम्रो नगरपालिकाको नक्सा कस्तो बनाउने हाम्रो हातमा छ। सरकारले पुर्वाधारको कमी बिना नै नगरपालिका घोषित गरेर हाम्रो हातमा काँचो माटो दिएको छ। कस्तो आकारको मुर्ती, भाँडो के बनाउने हाम्रै हातमा छ। हामी सबै मतदाताले भोलिको धुनिवेशीको सुन्दर सपना देख्नुपर्छ। ती सुन्दर सपना साकार बनाउने सक्षम र इमान्दार उमेदवार रोज्नुपर्दछ। बेला छँदै उमेदवार बारेमा बुझौँ, साक्षात्कार गरौँ र चुनावमा मनले खाएको व्यक्तिलाई मतदान गरौँ। निर्वाचित हुनेहरू त राम्रो/नराम्रो कामको भागीदार हुने छन नै, हामी मतदाता पनि यसको भागीदार हुने छौँ। सुन्दर नगर निर्माणको जश कि कुरूप नगर निर्माणको अपजश थाप्ने त आफ्नो पोल्टामा ?
No comments:
Post a Comment