Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Sunday, November 22, 2015

मेरो देश कस्तो ?

जुवाको खाल बनेको छ
मेरो देश
राजनीति जुवा बनि नै रहेछ
दाउमा राखिन्छन् कयौँ जीवनहरू
र च्याँखे थापिन्छन जायज नाजायज मुद्दाहरू
हत्केलामा ठेला फूटाई
माटोमा सुबास खोज्ने मजदुरभन्दा
यहाँ हालीमुहाली छ
चिटिक्क परेको भाषणमा
शोषण गर्ने नाइकेहरूको
र मजबुर पारिन्छ सही मजदुरलाई
रहन थाङ्नामुनि

राजनितिका मागहरू बोलिन्छन् 
तोडफोड, आगजनी र गोलाबारूदका सहाराले
र यहीं थलिन्छन अबलाहरू
जसको बोल्ने कुनै साधन छैन
जसको देशमा कुनै सम्मान छैन

जनता !
उनीहरू कै नाम
सबका नारामा गुञ्जिन्छन्
जनताले यसो चाहन्छन्
जनताले उसो चाहन्छन्
र हेरिरहेका हुन्छन्
मात्र उनका पछि लाग्नेलाई
र कसैलाई फुर्सद छैन सोध्नको लागि
जनता तिमी के चाहन्छौँ ?

ठप्प पारिन्छ जनजीवन 
र गरिन्छ रे यहाँ 
जनताको लागि क्रान्ति
सहिदिनुपर्छ रे
मानिदिनुपर्छ रे
उनीहरूले गरेका जति ज्यादती
किनकी
गाँसिएको छ रे सपना
उनीहरूको मुक्तिको

आउछन प्रयोगमा अनेक
कहिले वृत्त कहिले सातघुम्ती
त कहिले 
कछुवा गतिको फास्ट ट्रयाकहरू
तर
देश सधैँ 
३६० डिग्रीमा घुमिरहन्छ
ज्युँका त्युँ
बिहान पुर्वमा ब्युँझेको सुर्य
चहार्दै पश्चिमबाट हामफाली
भोलिपल्ट बिहान फेरि 
पुर्वमा झुल्केजस्तो
परिवर्तनको उफ्राई
फगत कान्लामूनिको भ्यागुताजस्तै
जति उफ्रे नि उस्ताको उस्तै

२०७२.०८.०६

No comments: