Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Friday, April 17, 2015

कविता "आमा र छोरा"

सहरबाट जान्छ
लाठे छोरा
आमाको छेउमा टुसुक्क बस्छ
बोकेर लगेको हुन्छ
सहरका केही कोसेली
आमाको हातमा राखिदिन्छ
सम्झिन्छ आमाको निमित्त
उसले सबथोक ल्याइ दियो

छेउमा बसेकी आमा
खुसी हुँदै समाउछिन कोसेली
त्योभन्दा बढी खुसी हुन्छीन
आफ्नै छेउमा छोरो बस्दैछ भनेर
उम्लिएर आउँछ
उनको वात्सल्य प्यार
भोकाएको होला भन्दै
नानातरह खान्की तयार पार्छिन
छोराले खाएको एक-एक गाँस हेर्दै
आमा तृप्त हुन्छिन

छोराको आवागमनमा खुसी आमा
रहर राख्छिन
छोरासँग धित मरून्जेल वात मार्ने
तर छोरा
एक छिनमा बेपत्ता हुन्छ
पुग्छ उसको साथीसङ्गी का साथ
चराहरू चिरबिराउँदै बासस्थान फर्किरहँदा
छोरा मस्त उसकै दुनियाँमा हुन्छ

हिजोअस्ति भए
समयमै खाएर सुति सक्थिन
आज भान्सा कुरिरहनुपरेछ
छोरा आउला
र सँगै दुई गाँस टिपुँला भनेर

No comments: