Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Tuesday, March 31, 2020

आफैैंमा



म खुम्चिन चाहन्छु मभित्र
म थुनिन चाहन्छु आफ्नै हिरासतमा
मलाई उत्तिकै मजा आउँछ
आफैंमा खुम्चिन
आफ्नै हिरासतमा कैद हुन
फुक्नेहरू पनि
एकदिन खुम्चिनु पर्ने छ आफैमा
खुला हुनेहरू पनि
एकदिन कैद हुनुपर्नेछ आफ्नै हिरासतमा
#लकडाउन #दिन८

Friday, March 27, 2020

मनोरोग

हे मन !
तँ पनि सख्त क्वारेन्टाइनमा बस्
के थाहा
तँ पनि सङ्क्रमित छस् कि
तँलाइ पनि सङ्क्रमण हुन्छ कि
अरूलाइ पनि तैँले सङ्क्रमित गराउँछस् कि
अचेल शहर होस् कि गाउँ
यो देश होस् कि उ देश
मनोरोगहरू बढीरहेका छन्
२०७६।१२।१४
#लकडाउन #दिन४
(लकडाउन वा क्वारेन्टाइनमा बस्दा मनोभावना दह्रो होस् । मनले अझ राम्रो गर्न उत्साहित गरिरहोस् कोरोना रोग नियन्त्रण भएर लकडाउन हटेपछि ।

Tuesday, March 3, 2020

#हाइकु१
उकुसमुकुस मन
बनाएर बसेछ
बेकारको चिन्ता

#हाइकु२
बिउँझिसकेछन्
निद्राभन्दा अघि नै
आकाङ्क्षा ताँती

Tuesday, April 9, 2019

नागरिकता बारेमा केही कुराः

१. नेपालमा नागरिकता वितरण नेपाल नागरिकता एेन, २००९ र नागरिकता नियमावली, २०१५ को लागु भएपछि सुरू भएको हो। यसको मतलब नेपालमा नागरिकता वितरणको इतिहास ६५ वर्ष हाराहारीको छ।
२. वि.सं. २०३२ पछि मात्र नेपाल सरकारले नागरिकसँग नेपाली नागरिकता प्रमाणपत्र हुनुपर्नेे आवश्यकता ठानेर नागरिकताको टोली खटाएको थियो।
३. २०४६ को परिवर्तन (प्रजातन्त्र पुनर्बहाली) अगाडि नेपालका नागरिकहरूले नागरिकता प्राप्त गर्नु नि ठूलै उपलब्धी जस्तो हुन्थ्यो। अझै भनाैँ लाखाैँ नेपाली नागरिकता बिहिन थिए।
४. नागरिकता वितरण वा नागरिकताको चर्चा आउनासाथ सरकारले टोली खटाएर नागरिकता वितरण गरेको र धेरै विदेशी(भारतीय)लाइ नागरिकता दिएको कुरा उठ्छ। यो आँकडा ५० लाखको भनेर प्रचार गरिन्छ।
५. पहिलेको व्यवस्थामा नागरिकता प्राप्ती सहज थिएन, प्रजातन्त्र पुनर्बहालीपछि सरकारले नागरिकलाइ सहजता प्रदान गर्दै नागरिकता प्रदान गर्न सुरू गर्यो। गाउँगाउँमा टोली खटाउने र सहज ढंगमा नागरिकता दिने काम पटकपटक भयो।
६. टोलीले दिइएको भनेको ५० लाख नागरिकतामध्ये सबै तराइमा दिइएको होइन। पहाडी क्षेत्रमा २८ लाख जति र तराइ मधेशमा २२ लाख जति भन्ने तथ्याङ्कहरू बाहिर आएका छन्।
(प्रशासनिक सेवालाइ सहजता प्रदान गर्न गरिएका यस्ता कामलाइ लिएर नकारात्मक टिप्पणी गर्नु कति वाञ्छनीय होला ?)
७. मधेश मूलका नागरिकलाइ भारतीय वा भारतीय मूलको देख्ने दृष्टिदोष पहाडी समुदायमा रहि आएको छ। यसैलाइ राष्ट्रवादको जलप बनाइँदैछ।
(यही कारण हो नेपालमा बहुल राष्ट्रवादको चर्चा हुन थालेको। एकै देशमा दुइ वा बढी राष्ट्रवादको आवश्यकता किन पर्दछ त नत्र ? यसलाइ समाधान गर्न सके एकल राष्ट्रवादमा नै देश अगाडि बढ्नसक्छ। सबै नेपाली नागरिकको एउटै राष्ट्रियता भएपछि एकै राष्ट्रवाद हुनुपर्दछ।)
८. १५ वर्ष अगाडिसम्म त पहाडमा नि नागरिकता नपाउनु, लिन अनेक सङ्घर्ष गर्नपर्नु, नागरिकता प्राप्ती नै संसारकै ठूलो चिज भए जस्तो अवस्था थियो। ति समस्याहरू समाधान गर्न खटिएका नागरिकता टोलीले धेरै नै सहजता पारेको कुरामा कसैको नि दुइमत नहोला। तिनै समयमा नेपालभर गरेर ५० लाख माथिले नागरिकता प्राप्त गरेका हुन्।
९. कुनै पनि मानिस नागरिकता-विहिन रहनुपर्ने अवस्था आउनुहुन्न। नेपालमा नै रहेका, लामो समयदेखि बसोबास गरेका तर नागरिकता प्राप्त नगरेकाहरूलाइ समस्यामा पारिनुहुन्न। राज्यबाट पाउने सुविधाको लागि नागरिकता चाहिन्छ, र नेपालका खास नागरिक नागरिकताको अधिकारबाट बञ्चित हुनुहुन्न।
१०. अन्त्यमा, हामीलाइ डर विदेशीले नागरिकता पाउँछन् कि भनेर हो भने निम्न कुराहरूमा कडाइ गराैँः
क) वैवाहिका नागरिकता (महिला र पुरूष दुवैका लागि समान व्यवहार होस्)को लागी निश्चित समयावधी तोक्ने
ख) विदेशी नागरिकलाइ नागरिकता प्रदान गर्न कडाइ
ग) जालझेल गरेर, झुट बोलेर, घुस खुवाएर नागरिकता लिन खोज्ने वा लिएको प्रमाणित भएका व्यक्तिलाइ कडा कारवाही गर्ने। यसगरी यस्तो कर्ममा संलग्न हुने कर्मचारी, साक्षीलाइ कडा कारवाही गर्ने।

घ) विदेशी नागरिकसँग विवाहितका सन्तानलाइ दिइने नागरिकताको लागि कडाइ गर्ने।

Saturday, December 15, 2018

न्याय खोइ ?

कसैले रातारात पोतेर गएछ
कालो
सरकार अनि प्रशासनको अनुहारमा

कसैले बाँधिदिएर गएछ
पट्टी
सरकारको अनि प्रशासनको आँखामा

कसैले कोचिदिएछ
बुजो
सरकारको अनि प्रशासनको कानमा

भोलिपल्ट सखारै थाहा लाग्छ
तेहाँ कसैको जीवन खोसिएको
धेरैको अमनचयन लुटिएको
अनि भिडको आँखै अगाडि
रक्षकको हातबाटै न्याय लुटिएको

तेसै रातको बिहानैदेखि
खोजि गरिरहेछन् मानिसहरू
कसले चुँडेर गयो कोपिला
कसले लुटेर लग्यो अमनचयन
र संसारको आँखै अगाडि
कसको आडमा लागेर
कसले किन न्यायको भण्डार नै लुट्यो

न्यायका जराहरू यसरी उखेलिए
समयको केही अवधी बीचमा
सरकार विष घोलेर पिलाउन खोजिरहन्थ्यो
केही निर्दोषहरूलाई
सहनै नसक्ने घाउको पिडामा रोइरहेथ्यो
परिवार
समाज
अनि राष्ट्र

कसैको पिडा देख्दै नदेख्ने
चिच्चाइ चिच्चाइ बोलाउँदा नि नसुन्ने
अाँखामा पट्टी बाँधिरहेको
न्याय जस्तै देखिने बुख्याँचा
न्यायको दरबार अगाडि
खोइ कसले खडा गरेको थियो ??
प्रष्टै देखिन्थ्यो
उसको हातमा रहेको
न्याय जोख्ने तराजु
अन्यायतर्फ जोडले लच्किरहेको थियो