Featured Post

देश दुख्दा

हिमाल दुख्यो पहाड दुख्यो दुख्यो सारा देश सुख हुँदा टाढिएका दुःख पर्दा जुट्यौँ सघाउन हिमाल अनि पहाड तराई एक भई जुट्यो एक एक मुठी अनाज...

Wednesday, December 24, 2014

म लेख्दैछु, मैले भोगेको अधिकतम नेपालीको भोगाई ।

म लेख्दैछु, मैले भोगेको अधिकतम नेपालीको भोगाई ।

विश्व बजारमा निरन्तर रुपमा पेट्रोलियम पदार्थको मूल्य घट्दो छ । सोहि अनुरुपमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा नघटे पनि नेपालमा पनि उल्लेख्य रुपमा घटि सकेको छ ।  पेट्रोलियम पदार्थको मूल्य घटबढ हुनासाथ नेपालमा सवारी साधनको भाडा समायोजनको प्रक्रिया सुरु हुन्छ ।  नेपाल सरकारले ढिलै र न्युन नै भए पनि भाडा घटाउने निर्णय २०७१.०९.०७ गते लियो तर पनि सो भाडा दर आज २०७१.०९.०९ साँझसम्म पनि कार्यान्वन गराउन कुनै पहल नगरेको पाएँ । हिजो बिहानदेखि नै लागु हुनुपर्ने भाडादर आज साँझसम्म पनि कार्यान्वयन हुन नसक्नु आश्चर्यजनक हो । हिजो बिहान ६.०० बजेतिर कलङ्कीबाट पुरानो बसपार्क जाँदा भाडादर घटेको छ नि भन्दा खलासी भाईले थाहा नभएको जवाफ दिए । लाग्यो चाँडै भएर होला, केहिबेर पछि त घटेकै नयाँ भाडादर चल्छ र कुनै प्रतिवाद नगरी भाडा दिएँ । सबैभन्दा अवाक त म बेलुकी भएँ जब साझा बसको परिचरले भाडा घटेकै थाहा छैन र अझ बानेश्वरदेखि कलङ्की सम्मको भाडा रू.२० मागे, जहाँ पुरानै भाडादर पनि रू.१८ मात्र हो । त्यो हाम्रो नियति हिजो मात्रै रहेन, आज पनि भोग्न पर्यो ।

भाडा नबढ्दै, बढ्ने सुइँको पाउनासाथ भाडादर बढाएर लिने व्यवसायीहरु, औपचारिक रुपमा भाडा घटेको आज २ दिन अर्थात ४८ घण्टा बित्दा नि बेखबर रहेछन । सरकार र व्यवसायी बसेर तोकेको भाडा दरको बारेमा व्यवसायीलाई त थाहा नै रहेनछ त ! मलाई त तिनिहरुको नियति देखेर दया लागेर आयो । सरकार र व्यवसायीले जनतालाई गौ-प्राणी ठानेर व्यवहार गर्ने क्रम अझै जारी राखेका छन् । सरकारले भाडादरको बारेमा ढाङ्ग्रो ठटाउँदै सुचना दिन कि कटुवाल खटाओस कि त सार्वजनिक सुचना जारी गरोस् । होइन भने जनतालाई कति दिनसम्म गुम्राहमा राख्ने हो त?

सिमित व्यवसायीले मात्र फाइदा उपभोग गर्ने तर जनसाधारणलाई चाहीँ मारमा पार्न पाइन्छ त ? यो कहाँको \ कस्तो लोकतन्त्र हो । म, एक साधारण तर न्युन आयश्रोत भएको परिवारको सदस्य हूँ । पढ्न जान गाडी चढ्नु पर्छ, भाडाको जोहो गर्नै पर्छ । भाडा घटेको खबर पाउँदा पाउँदै बढी भाडा तिर्नु पर्दा घाटामा परेको र ठगिएको महशुश गर्नु परिरहेको छ । यस्तै कथा लाखौँ नेपालीको छ । सरकार त मुकदर्शक, निकम्मा रहेछ, उसको उपस्थिति छ कि छैन भनेर गुगल सर्च गर्नु पर्ने जस्तो छ ।

निकम्मा सरकार तथा प्रशासनको कारण जनताले बेहोर्नु परेको घाटाको क्षतिपूर्ति सरकारले कसरी गर्छ ? जनताले क्षतिपूर्ति पाउनै पर्छ । हामीले अप्रत्यक्ष रुपमा कर तिरिरहेका छौँ । खै त हामीलाई सुविधा । हामीले सधैँ अपहेलित व्यवहार सहनु पर्ने हो त ? एउटा सभाषद आफ्नो व्यवसाय बचाउन संसद अवरुद्ध गर्न तत्पर रहन्छ तर जनताको लागी बोल्दैन । जनसाधारणको लागी खै को छ यहाँ ?


सरकार त ति व्यापारीको रहेछ जसले कालाबहारी, सिन्डिकेट गर्न पाउनुपर्छ भन्दा, लम्पतार परेर “हस हजुर” भन्छ । यहाँ जनता ठगिँदा त सरकार कहाँ छ भनेर गुगल सर्च गर्दा नि भेट्न मुस्किल छ । नेताजी हरूले सोचेका होलान, व्यवसायीको पक्षमा लागे अर्को चुनावमा पनि पैसाको खोलो बगाउन व्यवसायीले पैसा जति पनि दिन्छन् । कति पटक पैसाको भरमा चुनाव जितिन्छ नेताजी ? चुनाव जित्न त जनताको भोट अपरिहार्य छ, नबिर्सनुस ! जनताको भोट पाउन त मन जित्नुपर्छ नै, त्यसैले जनताको निमित्त काम गर्नुहोस् । जनताको आशालाग्दो नेतृत्व बनेर देखाइ दिनुहोस् ।

No comments: