म लेख्दैछु, मैले भोगेको अधिकतम नेपालीको भोगाई ।
विश्व बजारमा निरन्तर रुपमा पेट्रोलियम पदार्थको मूल्य घट्दो छ । सोहि
अनुरुपमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा नघटे पनि नेपालमा पनि उल्लेख्य रुपमा
घटि सकेको छ । पेट्रोलियम पदार्थको मूल्य
घटबढ हुनासाथ नेपालमा सवारी साधनको भाडा समायोजनको प्रक्रिया सुरु हुन्छ । नेपाल सरकारले ढिलै र न्युन नै भए पनि भाडा
घटाउने निर्णय २०७१.०९.०७ गते लियो तर पनि सो भाडा दर आज २०७१.०९.०९ साँझसम्म पनि
कार्यान्वन गराउन कुनै पहल नगरेको पाएँ । हिजो बिहानदेखि नै लागु हुनुपर्ने भाडादर
आज साँझसम्म पनि कार्यान्वयन हुन नसक्नु आश्चर्यजनक हो । हिजो बिहान ६.०० बजेतिर
कलङ्कीबाट पुरानो बसपार्क जाँदा भाडादर घटेको छ नि भन्दा खलासी भाईले थाहा नभएको
जवाफ दिए । लाग्यो चाँडै भएर होला, केहिबेर पछि त घटेकै नयाँ भाडादर चल्छ र कुनै
प्रतिवाद नगरी भाडा दिएँ । सबैभन्दा अवाक त म बेलुकी भएँ जब साझा बसको परिचरले
भाडा घटेकै थाहा छैन र अझ बानेश्वरदेखि कलङ्की सम्मको भाडा रू.२० मागे, जहाँ
पुरानै भाडादर पनि रू.१८ मात्र हो । त्यो हाम्रो नियति हिजो मात्रै रहेन, आज पनि
भोग्न पर्यो ।
भाडा नबढ्दै, बढ्ने सुइँको पाउनासाथ भाडादर बढाएर लिने व्यवसायीहरु, औपचारिक
रुपमा भाडा घटेको आज २ दिन अर्थात ४८ घण्टा बित्दा नि बेखबर रहेछन । सरकार र
व्यवसायी बसेर तोकेको भाडा दरको बारेमा व्यवसायीलाई त थाहा नै रहेनछ त ! मलाई त
तिनिहरुको नियति देखेर दया लागेर आयो । सरकार र व्यवसायीले जनतालाई गौ-प्राणी
ठानेर व्यवहार गर्ने क्रम अझै जारी राखेका छन् । सरकारले भाडादरको बारेमा ढाङ्ग्रो
ठटाउँदै सुचना दिन कि कटुवाल खटाओस कि त सार्वजनिक सुचना जारी गरोस् । होइन भने
जनतालाई कति दिनसम्म गुम्राहमा राख्ने हो त?
सिमित व्यवसायीले मात्र फाइदा उपभोग गर्ने तर जनसाधारणलाई चाहीँ मारमा
पार्न पाइन्छ त ? यो कहाँको \ कस्तो लोकतन्त्र हो । म, एक साधारण तर न्युन आयश्रोत
भएको परिवारको सदस्य हूँ । पढ्न जान गाडी चढ्नु पर्छ, भाडाको जोहो गर्नै पर्छ ।
भाडा घटेको खबर पाउँदा पाउँदै बढी भाडा तिर्नु पर्दा घाटामा परेको र ठगिएको महशुश
गर्नु परिरहेको छ । यस्तै कथा लाखौँ नेपालीको छ । सरकार त मुकदर्शक, निकम्मा रहेछ,
उसको उपस्थिति छ कि छैन भनेर गुगल सर्च गर्नु पर्ने जस्तो छ ।
निकम्मा सरकार तथा प्रशासनको कारण जनताले बेहोर्नु परेको घाटाको
क्षतिपूर्ति सरकारले कसरी गर्छ ? जनताले क्षतिपूर्ति पाउनै पर्छ । हामीले
अप्रत्यक्ष रुपमा कर तिरिरहेका छौँ । खै त हामीलाई सुविधा । हामीले सधैँ अपहेलित
व्यवहार सहनु पर्ने हो त ? एउटा सभाषद आफ्नो व्यवसाय बचाउन संसद अवरुद्ध गर्न
तत्पर रहन्छ तर जनताको लागी बोल्दैन । जनसाधारणको लागी खै को छ यहाँ ?
सरकार त ति व्यापारीको रहेछ जसले कालाबहारी, सिन्डिकेट गर्न पाउनुपर्छ
भन्दा, लम्पतार परेर “हस हजुर” भन्छ । यहाँ जनता ठगिँदा त सरकार कहाँ छ भनेर गुगल
सर्च गर्दा नि भेट्न मुस्किल छ । नेताजी हरूले सोचेका होलान, व्यवसायीको पक्षमा
लागे अर्को चुनावमा पनि पैसाको खोलो बगाउन व्यवसायीले पैसा जति पनि दिन्छन् । कति
पटक पैसाको भरमा चुनाव जितिन्छ नेताजी ? चुनाव जित्न त जनताको भोट अपरिहार्य छ,
नबिर्सनुस ! जनताको भोट पाउन त मन जित्नुपर्छ नै, त्यसैले जनताको निमित्त काम गर्नुहोस्
। जनताको आशालाग्दो नेतृत्व बनेर देखाइ दिनुहोस् ।
No comments:
Post a Comment